भदौं ०५, कैलाली । लामो समयदेखि शिक्षण सेवामा रही विद्यालय तथा विद्यार्थीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै अनिवार्य अवकाश प्राप्त गर्नुभएका बर्दगोरिया गाउँपालिका ६ जगतपुरमा रहेको श्री पारस आधारभुत बिद्यालयका प्रधानाध्यापक सन्तराम डँगौरा लाई आज एक कार्यक्रमका बीच भव्य विदाइ गरिएको छ ।



विद्यालयमा आयोजित अनिवार्य अवकास शिक्षक विदाइ कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सेवा निवृत्त शिक्षकलाई दोसल्ला ओढाएर सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मानसहित बिदाइ गरिएको हो ।



बिदाइ कार्यक्रममा बर्दगोरिया गाउँपालिका ६ नम्बर वडाअध्यक्ष रामकृष्ण डँगौरा थारु प्रमुख अतिथिका रुपमा बोल्दै आफ्नो सेवा अवधिभर शिक्षकले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको अनुशासन तथा व्यक्तित्व विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । शिक्षकको अनुभव, लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धता आगामी पुस्ताका शिक्षक तथा विद्यार्थीका लागि प्रेरणादायी रहेको वहाँको भनाइ थियो ।
विदाइ कार्यक्रममा बोल्दै सेवा निवृत्त शिक्षक डँगौराले आफ्नो लामो शिक्षण यात्रामा साथ, सहयोग र माया प्रदान गर्ने विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुक सबैप्रति भावुकहुँदै आभार व्यक्त गर्नुभयो । उहाँले कबिता मार्फत शिक्षण पेशामा बिताएका वर्षहरू आफ्नो जीवनका अविस्मरणीय क्षण रहेको बताउँदै विद्यालयको निरन्तर प्रगति र विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले सेवा निवृत्त शिक्षकसँग बिताएका सम्झना तथा अनुभवहरू साझा गर्दै उहाँको आगामी जीवन सुखमय, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष शर्मिला डँगौराले शिक्षकले शिक्षण सेवामार्फत पु¥याएको योगदानको उच्च सम्मान गर्दै अवकाशपछि पनि उहाँको अनुभव र सुझाव विद्यालयका लागि महत्वपूर्ण रहने बताउनुभयो ।
लामो समयसम्म शिक्षण सेवामा समर्पित रही बिभिन्न विद्यालय, विद्यार्थी र समुदायको शैक्षिक विकासमा योगदान पु¥याउनुभएका शिक्षक सन्तराम डँगौराको विदाइ कार्यक्रममा भावुक वातावरण देखिएको थियो । उपस्थित सबैले उहाँको आगामी जीवन सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस् भन्दै भब्य तरिकाले बिद्यालय परिसरबाट वहाँको निवास सम्मै पुगाएर शुभकामना व्यक्त गरेका थिए ।
















