साउन ४, काठमाण्डौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षक सहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।



घटनापछि विद्यालयले आरोपित तीनै जना शिक्षक–कर्मचारीलाई निलम्बन गरेको छ भने सुन्दरहरैँचा नगरपालिकाले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन् । उनिहरु विद्यालयका शिक्षक तथा कर्मचारी हुन् । नीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले सामाजिक सञ्जालमा सार्वजनिक भएका गुनासा र प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने उनले उहाँको भनाइ छ ।
घटनापछि सुन्दरहरैँचा नगरपालिकाले विज्ञप्ति जारी गर्दै विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा जारी विज्ञप्तिमा आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्न विद्यालयलाई निर्देशन दिइएको उल्लेख छ ।
नगरपालिकाको निर्देशनपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले आरोप लागेका प्रदीप भट्टराई, भीमप्रसाद नेपाल र अबिरल मास्केलाई अनुसन्धान नसकिँदासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ । नेपाल संगित प्रशिक्षक हुन् भने मास्के शिक्षक र भट्टराई बसका चालक रहेका छन् ।
यसअघि सामाजिक सञ्जालमा केही छात्राले शिक्षक र कर्मचारीबाट अनुचित व्यवहार भएको दाबी गर्दै अनुभव सार्वजनिक गरेपछि आइतबार नै घटना बाहिर आएको हो । त्यसयता नगर बाल सञ्जाल, कानुन विद्यार्थी समाजलगायत विभिन्न संघसंस्थाले निष्पक्ष छानबिन, पीडितको सुरक्षा तथा दोषी प्रमाणित भए कडा कानुनी कारबाहीको माग समेत गरेका छन् ।












