असार ३१, काठमाण्डौ । मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली क्षेत्रमा सडक भासिएर यातायात अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङमा खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ। आपूर्ति अनिश्चित बनेसँगै उपभोक्ता वैकल्पिक रूपमा विद्युतीय चुलो खरिद गर्न बाध्य भएका छन्।

CP-HOSPITAL

पाँचथरमा असार ३ गतेयता एलपी ग्यासको नयाँ आपूर्ति हुन सकेको छैन। यस्तै, पेट्रोलियम पदार्थको नियमित आपूर्ति रोकिएको पनि करिब दुई साता पुग्न लागेको व्यवसायीले बताएका छन्। जिल्लाका अधिकांश ग्यास डिपो र पेट्रोल पम्पमा मौज्दात सकिँदै गएपछि उपभोक्ताले आवश्यक वस्तु सहज रूपमा पाउन छाडेका छन्।

यसअघि झापाको चारआलीबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको थियो। तर मेची राजमार्ग अवरुद्ध भएपछि झापाबाट इटहरी–धरान–धनकुटाको मूलघाट हुँदै तमोर करिडोर प्रयोग गरेर आपूर्ति गर्ने प्रयास गरिएको थियो।

तर तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ हाङठुवादेखि फिदिमतर्फको सडक वर्षाका कारण क्षतिग्रस्त भएकाले र उक्त मार्गबाट सामग्री ढुवानी गर्दा मेची राजमार्गको तुलनामा धेरै इन्धन खर्च हुने भन्दै व्यवसायीले ढुवानी गरेका छैनन्। यसले वैकल्पिक मार्गसमेत प्रभावकारी बन्न सकेको छैन।

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र अधिकारीले तमोर करिडोरबाट सामग्री ल्याउँदा थप हुने इन्धन खर्च बिक्री मूल्यमा समायोजन गर्न अनुमति पाए व्यवसायी ढुवानी गर्न तयार रहेको बताउनुभयो।

उपभोक्ता भने यसअघि पनि यस्तै अवस्थामा अतिरिक्त खर्च व्यहोरेर सामग्री ल्याइएको भन्दै व्यवसायीले पुनः त्यही अडान दोहोर्‍याउन नहुने बताउँछन्।

ग्यास अभावका कारण दैनिक खाना पकाउन समस्या भोगिरहेका सर्वसाधारण पछिल्ला दिनमा विद्युतीय चुलो खरिदतर्फ आकर्षित भएका छन्। बजारमा विद्युतीय चुलोको माग उल्लेख्य रूपमा बढेको व्यवसायीको भनाइ छ। केही उपभोक्ताले दाउरा तथा अन्य वैकल्पिक इन्धनको प्रयोगसमेत बढाएका छन्।

स्थानीयवासीले प्रत्येक वर्ष वर्षायाममा दोहोरिने आपूर्ति सङ्कटले जनजीवन प्रभावित हुने गरेको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्। सडक अवरुद्ध हुँदा पनि अत्यावश्यक वस्तुको ढुवानी निरन्तर रहने गरी भरपर्दो वैकल्पिक मार्गको व्यवस्था गर्न स्थानीय प्रशासन, उद्योग वाणिज्य सङ्घ र आपूर्तिकर्ताबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।

पाँचथरका निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराज श्रेष्ठले ग्यास र इन्धनको आपूर्ति सहज बनाउन सर्वपक्षीय बैठक बोलाइए पनि उपभोक्तामाथि अतिरिक्त व्ययभार थपेर सामग्री बिक्री गर्नुपर्ने व्यवसायीको अडानका कारण सहमति हुन नसकेको बताउनुभयो।

उहाँले तत्काल निकासका लागि उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीसँग थप छलफल गर्न निर्देशन दिइएको जानकारी दिनुभयो।

पाँचथर सदरमुकाम फिदिममा तीन, सिंहापुरमा एक र कुम्मायक–१ भुल्केमा एक गरी पाँच पेट्रोल पम्प छन्। तीमध्ये फिदिम र सिंहापुरका पम्पमा पेट्रोल सकिएको छ। यसका कारण मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा जिल्लाका भित्री सडकमा चल्ने सवारीसाधन प्रभावित भएका छन्।

जिल्लामा मुख्य रूपमा पाथीभरा र कोशी ब्रान्डका एलपी ग्यास प्रयोग हुने गरे पनि हाल दुवै ग्यासको अभाव छ। डिलरका गोदाममा खाली सिलिन्डर थुप्रिएका छन्।

वर्षेनी सडक अवरुद्ध हुँदा ग्यास र पेट्रोलियम पदार्थ मात्र नभई खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति पनि प्रभावित हुने गरेको छ। त्यसैले विपद्का बेला अत्यावश्यक वस्तुको आपूर्ति प्रणाली सुरक्षित र नियमित बनाउन सम्बन्धित निकायले पूर्वतयारीसहित काम गर्नुपर्ने आवश्यकता यसपटक पनि औँल्याइएको छ।