जेठ ३०, काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ले सुदूरपश्चिमको चर्चित पर्यटकीय गन्तव्य अपि हिमाल बेस क्याम्पबाट खिचिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।



शनिबार उनले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा उच्च हिमाली वातावरणबीच क्रिकेट खेलिएको दृश्य देखिन्छ। हिमालय भट्टले खिचेको उक्त भिडियोले हिमाली क्षेत्रको फरक अनुभव र प्राकृतिक सौन्दर्य प्रस्तुत गरेको छ।



अपि हिमाल बेस क्याम्प सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित एक लोकप्रिय पर्यटकीय गन्तव्य हो। यहाँबाट सुदूरपश्चिमकै सबैभन्दा अग्लो हिमाल मानिने अपि हिमाल को दृश्य अवलोकन गर्न सकिन्छ।
७,१३२ मिटर उचाइमा रहेको अपि हिमाल विदेशी तथा स्वदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा परिचित छ। यो क्षेत्र अपि हिमाल गाउँपालिका अन्तर्गत पर्दछ।
त्यस्तै अपि नाम्पा संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण क्षेत्र मानिन्छ। यहाँ हिउँचितुवा, रेड पान्डा, घोरल, नाउर, कालो भालुलगायतका वन्यजन्तु तथा दुई सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन्।
बालेनले साझा गरेको भिडियोपछि अपि हिमाल क्षेत्रको पर्यटन सम्भावना र प्राकृतिक आकर्षणबारे पुनः चर्चा सुरु भएको छ।














