जेठ ३०, कैलाली । कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत शुक्रवार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ । करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचनाहरू भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो ।

CP-HOSPITAL

उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जिवक्ष यादवको नेतृत्वमा खटिएको टोलीले जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत भिमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर, टहरा र अन्य संरचनाहरू भत्काइएको हो ।

भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासका वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाइएको र वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाइएको उहाँले बताउनुभयो । वन क्षेत्रको संरक्षण, सिमाङ्कन कार्यलाई प्रभावकारी बनाउने तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो, ठाकुरले भन्नुभयो ।

अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका १० वटै सव–डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी २ सय जनाको हाराहारीमा जनशक्ति परिचालन गरिएको थियो ।

यसअघि पनि अत्तरिया आसपासका क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग छेउमा बनाइएका संरचनाहरू हटाइएको थियो ।
वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका कच्ची घर, टहरा तथा अन्य संरचनाहरूले वन संरक्षण र जैविक विविधतामा नकारात्मक असर पार्दै आएको भन्दै अतिक्रमण हटाउनु आवश्यक रहेको ठाकुर बताउनुहुन्छ ।

डिभिजन वन कार्यालय कैलालीले वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि नियमित अनुगमनसँगै अतिक्रमण पुनः नदोहोरियोस् भन्ने उद्देश्यले निगरानी थप कडा बनाइएको जनाएको छ ।

कैलाली वन अतिक्रमणको दृष्टिकोणले देशकै सबैभन्दा संवेदनशील जिल्लामध्ये एक मानिन्छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार देशभर अतिक्रमणमा परेको करिब एक लाख चार हजार हेक्टर वन क्षेत्रमध्ये ३८ प्रतिशतभन्दा बढी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन करिब ३८ हजार ४० हेक्टर हुन आउँछ।
यद्यपि पछिल्ला वर्षहरूमा कैलालीका डिभिजन वन कार्यालयहरूले अतिक्रमण नियन्त्रण तथा हटाउने कार्यमा सक्रियता बढाउँदै आएका छन्।