जेठ २२, काठमाण्डौ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाण्डौमा चलिरहेको १६औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ नयाँ कीर्तिमान बनेको छ ।



हिजो त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको छात्र ४ गुणा ४०० मिटर रिले दौडमा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो । गण्डकीका अतीत थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारीले ३ मिनेट २७ दशमलव ९ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ । सुदूरपश्चिम प्रदेश तेस्रो भयो ।



यस्तै छात्रा ४ गुणा ४०० मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ । सुरुची मोक्तान, अनिशा थारु, भगवती खड्का र शर्मिला विकको टोलीले ४ मिनेट १८ दशमलव १ सेकेन्डमा दूरी पूरा गर्यो । लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन् ।



राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा भइरहेको छ । सातै प्रदेशका ६८६ खेलाडी सहभागी यस प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी छ ।














