बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखालमा  मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र राम जानकी सेवा समाजमा माघ ३ गते आज विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति हुने भएको छ । 

 राम जानकी सेवा समाज भक्तिनिया अस्थानको आयोजनामा भइ रहेको माघी मेलामा माघ ३ गते चर्चित डान्सर नानू चौधरी 8848, मोडेल तथा डान्सर सुमित्रा चौधरी,अभिनेता नवराज रिमाल, पौराणिक कलाकारहरु लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । 

मेलालाई थप आकर्षक बनाउन र आन्तरिक पर्यटन प्रवर्द्धनलाई माथि उकास्न स्थानीय तालमा बोटिङ्ग लगाएतको  व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 मेलामा ५० रुपैयाँमै बोटिङ्ग गर्न पाइनेछ । वडा नम्बर ६ को आर्थिक सहयोगमा, राम जानकी सेवा समाज भक्तिनिया अस्थान तिर्थ मेला व्यवस्थापन समितिले यहि माघ १ गतेदेखि ६ गतेसम्म वडा नम्बर ६ को सुगरखाल स्थित भक्तिनिया स्थानमा मेलाको आयोजना गरेको छ ।

बर्दगोरिया ६ मा रहेको राम जानकी धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवर्द्धनका साथै आपसी सद्भभावका लागि माघी मिलन सास्कृतिक कार्यक्रम तथा तिर्थ मेलाको आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष राज कठरियाले बताउनुभयो ।

स्थानीय रामजानकी मन्दिरको प्राङ्गणमा हुने कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न झाकी तथा नृत्यहरु समेत प्रस्तुत गरिने छ । मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेषभुषा,नृत्य र पंचे बाजासहितको, झाँकीहरु, थारु पौराणिक लोक सास्कृतिक कार्यक्रमका साथै देउडा र दोहोरी गीतको समेत प्रस्तुति राखिने सास्कृतिक व्यवस्थापन समितिले जनाएको छ ।

मेलामा हनुमान मम्दिर,कैलेस्वर बाबा मन्दिर, राम जानकी मन्दिर, नवनिर्मित झोलुंगे पुल तथा बोटिङ्ग मुख्य आकर्षक हुनेछ्न ।