
बौनिया । कञ्चनपुरका सीमानाकाबाट ३८ जना बालिकाको उद्धार गरिएको छ । कञ्चनपुर प्रहरीका अनुसार पाँच महिनाको अवधिमा नाकाबाट ३८ जना बालिकाको उद्धार गरिएको हो ।




चालु आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका नाकाबाट उद्धार गरिएकामध्ये बालिकाहरुको संख्या धेरै छ । त्यसपछि महिलाको संख्या धेरै छ । पाँच महिनाको अवधिमा ३० जना महिलाको उद्धार गरिएको छ । नाकाबाट उद्धार गरिएका बालकको संख्या नौ छ ।




उद्धार गरिएकाहरुमध्ये अधिकांशजसो कामका लागि भारत जान लागिरहेका पाइने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । त्यस्तै, केही संख्यामा उमेर नपुगी विवाह गर्नका लागि भागेर गइरहेको अवस्थामा भेटिने गरेका उनले बताए ।




‘बढीजसो काममा लागि भारत गइरहेका हुन्छन्,’ उनले भने, ‘केही उमेर नपुगी भागेर बिहे गर्न गइरहेका पनि हुन्छन् ।’ उनले फोनबाट कुरा भएका भरमा गइरहेका पाइने गरेकामा बेचबिखनको जोखिम हुने भएकाले नाकाबाट फर्काइने गरेको बताए । ‘फोनबाट सम्पर्क भएर गइरहेका हुन्छन्, के काम गर्ने हो भन्दा जवाफ हुँदैन, अनि बेचबिखनमा पर्न सक्छन् भनेर नियन्त्रणमा लिन्छौँ,’ उनले भने ।




विशेषगरी जिल्लाको मुख्य नाका गड्डाचौकीबाट महिला एवं बालबालिका भारत गइरहेका हुन्छन् । गड्डाचौकीसँगै त्रिभुवन बस्ती, ब्रह्मदेव लगायतका जिल्लाभरका अन्य नाकाबाट पनि भारत गइरहेका भेटिने गरेका प्रवक्ता डाँगीले बताए । उनले जिल्लाभरका सीमानाकाहरुबाट उक्त संख्यामा महिला बालबालिकाहरुको उद्धार गरिएको बताए ।