धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । ६ मन्त्रालय रहेको सुदूरपश्चिम सरकार दोस्रो पटक विस्तार गर्दा पनि ५ मन्त्रालयले मात्रै मन्त्री पाएका छन ।

प्रदेश सरकारले ‘हनिमुन पिरियड’ अर्थात १०० सय दिन पुरा गरेपछि विस्तार गरिएको सरकारमा अझै १ मन्त्रालय खालि छ । शनिबार मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट एक राज्यमन्त्री सहित ३ जना र नेपाली कांग्रेसबाट १ जना गरी ४ जनालाई नियुक्त गरेका छन ।

सरकारमा नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीबाट झपट साउँद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बनेका छन । माओवादीकी गीतादेवी माल राज्यन्त्री बनेकी छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शनिबार नै प्रदेश प्रमुख देवराज जोशीले शपथ ग्रहण गराएका थिए ।

२०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले माघ २७ गते पहिलो पटक कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पुर्वाधार र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिएका थिए । त्यसको १०१ दिनमा शनिबार मन्त्रीपरिषद विस्तार गरिएको हो ।दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दा पनि अझै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीका लागि उक्त मन्त्रालय खाली राखिएको जनाइएको छ । शनिबार नै नागरिक उन्मुक्ती पार्टीलाई पनि सरकारमा सहभागि गराउने प्रयास गरिएपनि उक्त पार्टीले २ मन्त्रालय पाउनुपर्ने अडान नछोडेपछि सहमती हुन सकेको थिएन । उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताएका छन ।सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले दुई मन्त्रालय दिन नसक्ने अडान लिएपछि नागरिक उन्मुक्ति सरकारमा सामेल भएन । सरकार गठन भएको १०० सय दिनमा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै मुख्यमन्त्री शाहको आलोचना हुँदै आएको छ ।मन्त्रालय महिला बिहिनसुदूरपश्चिम प्रदेशमा रहेका ६ वटा मन्त्रालय मध्ये ५ वटा मन्त्रालयको जिम्मेवारी तोकिइसकेको छ ।

अब भूमि, कृषि तथा सहकारी मन्त्रलयमा मन्त्री नियुक्त हुन बाँकी छ । उक्त मन्त्रालय नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले भने २ मन्त्रालय पाउनु पर्ने भन्दै लक्ष्मण किशोर चौधरी र रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । तर, एउटा मात्रै मन्त्रालय भागमा परेपछि कसलाई पठाउने भन्ने टुंगो लगाउन सकेको छैन । सत्तारुढ गठबन्धनबीच भएको सहमतिमा तीन जना राज्यमन्त्री थप्ने तय भएको छ । जसमा कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिबाट एक–एक राज्यमन्त्री बन्नेछन् ।अहिले नियुक्त भइसकेको राज्यमन्त्रीमा महिला परेपनि मन्त्रीमा भने ३ वटै दलबाट पुरुष मात्रै परेका छन । कृषि मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले लिएमा उक्त मन्त्रालय पनि पुरुष नै मन्त्री हुने निश्चित जस्तै छ । जसले गर्दा सुदूरपश्चिम सरकारमा महिलाबाट मन्त्री नहुने पक्कापक्की जस्तै भएको छ । प्रदेश सभा सदस्य गीता चौधरी राजनीतिक दलले वास्ता नगर्दा प्रदेश सरकारमा महिला नअटाएको बताइन । उनले सुदूरपश्चिम सरकार महिलाविहीन बनेको बताइन् ।

सुशासनलाई पहिलो प्राथमिकता

सुदुरपश्चिमका नव नियुक्त सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै सामाजिक बिकास मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्री साउँदले सो कुरा बताएका हुन् ।उनले लामो समयपछि मन्त्रालय रिक्त भएपनी ढिलै भएपनी पुर्णता पाएको बताए । आफुले मन्त्रालयको नेतृत्व समाल्दै गर्दा सुशासनलाई पहिलो जोड दिएको बताए । उनले भने, ‘जसरी यो देश आर्थिक अनयिमितता, भ्रष्टाचारमा गएको छ, त्यसरी नै सहि दिशानिर्देशमा ल्याउने पहिलो प्राथमिकता हो, सुशासनमा पहिलो जोड दिन्छु ।’