बौनिया । कैलालीको धनगढीबाट प्रकाशन शुरु गरेको थारुवान खबर त्रैमासिक पत्रिका बजारमा आएको छ ।

छापा सञ्चारमाध्यम बन्द हुने क्रम रहेको बिचमा दस्तावेजीकरण तथा थारु समुदायको हकअधिकारका विषयमा राज्य व्यवस्थासंग पहल गर्ने र जनउपयोगी सूचनाहरु समुदायसम्म पुर्याउने उद्देश्यले पत्रिका बजारमा ल्याइएको हो ।

पत्रिकाको शनिबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले लोकार्पण गरे । मन्त्री धामीले पत्रिकाले सामाजिक पहिचान, सुशासन, समृद्धि र समाजवादको नारामा वैचारिक वहस बनाउनमा जोड दिनुपर्ने बताइन् ।

उनले छापामिडियाको स्विकारोक्ति नभएको समयमा त्रैमासिक पत्रिका निकाल्ने जमर्कोनै स्वागतयोग्य रहेको बताए । मन्त्री धामीले भने –‘अहिलेको व्यवस्थाको रक्षामा सञ्चारमाध्यम लाग्नुपर्छ । अझैपनि जनयुद्व ठिक थियो भनेर हामी बोल्न सकिरहेका छैनौं । हजारौं व्यक्तिको योग्दानले ल्याइएको व्यवस्थालाई संस्थागत गर्न तर्फ वैचारिक बहस हुन जरुरी छ ।’

उनले व्यवस्थाका लागि आवाज उठाउने नेता तथा कार्यकर्ता एक हुन नसक्दा व्यवस्थामाथि प्रश्न उठ्ने गरेको बताउँदै –‘हरेक क्रान्तिले व्यवस्था फेरेको छ तर, जनताको अवस्था उस्तै हुने गर्छ । पूर्ण रुपमा व्यवस्थाको ग्रहण गर्न सक्ने नेतृत्वको अभावले यो समस्या आएको हो ।’ उनले अझै पनि संघियताले पूर्णता पाउन नसकेको बताए ।

मन्त्री धामीले भने –‘तीन तहकै सरकारमा अधिकार आफुमा राख्ने होडबाजीका कारण जनताका पक्षमा सरकारलाई काम गर्न समस्या भइरहेको छ ।’

राष्ट्रिय सभा सदस्य तथा पत्रिकाका संरक्षक हरिराम चौधरी (उत्सव) ले थारुवान शब्द विचारसंग जोडिएकाले जनयुद्वले परिकल्पना गरेका विचार र त्यो बेलामा गरिएका प्रतिवद्धताको पूर्ण कार्यान्वयनका लागि पत्रिकाले बहस चलाउनुपर्ने बताए ।

उनले भने –‘जनयुद्वका विचार, उत्पीडित वर्गका अधिकार र राज्य व्यवस्थाले ध्यान नदिएका विषयमा पत्रिकाले बहसनै चल्ने गरि सन्दर्भहरु समेट्नुपर्छ ।’ उनले राजनीतिकर्मी र सञ्चारमाध्यमबिच दुरी बढ्दा समस्या आइरहेको बताए । उनले भने –‘अहिले बहस रुष्टतापूर्वकका हुन्छन् । नेतृत्वकर्ता चित्त बुझेका कुरामात्र हेर्छन । आलोचनात्मक सुझाव ग्रहण गरिरहेका छैनन् ।’ उनले सञ्चारमाध्यमले सरकारले वितेका समयमा गरेका कामको समिक्षा र आगामी दिनमा गर्नुपर्ने कार्यबारे सुझाव प्रदान गर्नुपर्ने बताए ।

उनले अहिले राजनीतिकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी लगायत सबै क्षेत्रमा छटपटाहट रहेको बताउँदै ‘व्यवस्थालाई पूर्ण संस्थागत गर्न र व्यवस्थाको कार्यान्वयनका लागि बौद्धिक वर्गले बहस अघि बढाउनुपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिंह ठगुन्ना, नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमाल जोशी, युवा अभियान्ता ठाकुर करिया प्रधान, प्रेस सेन्टरका हरिश विक, नेपाल पत्रकार महासंघ कैलाली सचिव प्रेम चौधरी, आदिवासी जनजाती महासंघका लखन चौधरी, उन्नति चौधरी लगायतले धारणा व्यक्त गर्दै पत्रिकाको जन्मसंगै दिर्घकालिन सञ्चालन हुनुपर्ने सुझाव दिएका थिए ।

पत्रिकाका सम्पादक तथा प्रकाशक तिलक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक मुकेश चौधरी (टेर्रा)ले गरेका थिए ।