बौनिया । कैलालीको बर्दगोरियामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।


आगामी मंसिर ८ गतेदेखि मुडा खेलमैदानमा हुन लागेको प्रथम संस्करणको फुटबल प्रतियोगितामा जिल्लाभरका १३ पालिकाबाट फुटबल टिम सहभागि हुने आयोजकले जानकारी दिएको छ ।


प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा उद्घाटन हुने भएको छ ।‘आत्मविश्वास, आत्मनिर्भर, स्थानीय पहिचान र स्वाथ्यका लागि खेल’ भन्ने नारा दिइएको प्रतियोगितामा सबै पालिकाबाट समेत सहभागिता रहने अध्यक्ष प्रमोद मल्लले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।


युवाहरुलाई खेलप्रति प्रेरित गर्ने र कुलतबाट जोगाएर समाजप्रति उत्तरदायि बनाउन खेलले भूमिका निर्वाह गर्ने आयोजकको अपेक्षा छ ।


प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले १ लाख ५ हजार रुपैयाँ, ट्रफी र प्रमाण–पत्र पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई २० हजार र ट्रफी प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीलाई जनही १५ हजार र ट्रफीले पुरस्कृत गरिने छ ।